जेन–जी आन्दोलनको प्रभाव: ९८ करोडको क्षति कसरी परिपूर्ति गर्दैछ विराटनगर?
विराटनगर महानगरले कटाउँदैछ पि २–पि ३ बजेट
अम्बिका खड्का
|
२०८२ मंसिर १९ गते ०८:२२
काठमाडाैं । विराटनगर महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन अगाडि बरन्डा र प्राङ्गणमा केही कुर्सी र टेबल राखिएको छ । ती मध्ये एउटा कुर्सीमा वडाध्यक्ष सन्तोष न्यौपाने बस्छन् भने अर्को एउटा कुर्सीमा वडा सचिव बस्छन् । जेनजी आन्दोलनपछि वडाध्यक्ष र वडासचिवले यसरी नै प्राङ्गणमा टेबल र कुर्सी राखेर नागरिकलाई सेवा प्रवाह गरिरहेका छन् । अन्य कर्मचारी भने आगलागी हुनबाट बचेको वडाध्यक्षको कार्यकक्षमा बसेर सेवा दिइरहेका छन् ।
वडा कार्यालय भवन निर्माणाधीन अवस्थामै थियो । भवनको माथिल्लो तला निर्माण भइरहेको थियो । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गर्दा भवनको तल्लो अर्थात वडा कार्यालय सञ्चालन भइरहेको तला जलेर क्षतिग्रस्त बन्यो । वडा कार्यालयको कम्प्युटर, ल्यापटल, प्रिन्टरदेखि इन्भर्टरको ब्याट्रीसम्म चोरी भए । तोडफोड र आगजनीबाट बाँकी रहेका कार्यालय सामाग्री र फर्निचर ध्वस्त भए । सरसफाई र आवश्यक व्यवस्थापन गरेर आन्दोलनको करिब एक सातापछि वडा कार्यालय सञ्चालनमा आएको थियो ।
‘आगजनी, तोडफोड र चोरी समेत भएका कारण ठूलो क्षति भएको छ’, वडाध्यक्ष सन्तोष न्यौपाने भन्छन्, ‘नागरिकको सेवा त जसरी पनि गर्नुपर्ने नै थियो । एक हप्ता त कसरी काम गर्ने भन्ने सोच्न, सरसफाई गर्न र व्यवस्थापन गर्न लाग्यो । मेरो कार्यकक्षमा कम क्षति भएकाले कर्मचारीहरुलाई त्यहाँ व्यवस्थापन गर्यौं । सचिवज्यू र म बाहिरैबाट काम गरिरहेका छौं ।’
यता महानगरपालिकाको वडा नम्बर २ मा भने आन्दोलनबाट आंशिक क्षति पुगेको छ । वडा कार्यालय भवनमा आगजनी भएन । तर कम्प्युटर, ल्यापटल, प्रिन्टर, फर्निचर र कागजपत्रहरु भने बाहिर निकालेर समेत जलाइयो । भवन तोडफोड गरियो । क्षतिग्रस्त अवस्थामा पनि वडा कार्यालयले भदौको २६ गतेबाट नै सेवा प्रवाह सुरु गर्यो । कार्यालय भवन बाहिरबाटै अत्यावश्यक सेवाबाट काम सुरु गरेको वडा कार्यालयले अहिले मर्मत र आवश्यक व्यवस्थापछि आफ्नै भवनबाट सेवा दिइरहेको छ । महानगरपालिकाका १९ वटा वडामध्ये जेनजी आन्दोलनपछि सबैभन्दा पहिले सेवा प्रवाह गर्ने वडा पनि २ नम्बर नै हो ।
‘हामीले २६ गतेदेखि नै नागरिकलाई सेवा दिन थालेका थियौं’, वडाध्यक्ष कुमार पोखरेल भन्छन्, ‘भवन तोडफोड भएको थियो । स्रोत साधन केही थिएन । हामीले बचेका स्रोत साधन, केही आफ्नै पकेटबाट र सहयोग लिएर पनि कार्यालय सञ्चालनका लागि आवश्यक स्रोत साधन जुटाएका छौं। जस्तो समस्या परेपनि नागरिकको सेवा रोक्नु हुँदैन भनेर महानगरभरमै हामीले सबैभन्दा पहिले सेवा सुरु गरेका हौं ।’
महानगरको सेवा पनि टेन्टबाट
आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा ठूलो क्षति पुग्यो । महानगरको तीन वटा भवनमध्ये एउटा भवन पूर्ण रुपमा र अन्य दुई वटा भवनमा आंशिक क्षति पुगेको छ । कार्यालय सञ्चालन गर्नका लागि आवश्यक कुनै पनि सामाग्री सकुशल थिएनन् । कम्प्युटर, प्रिन्टरदेखि टेबल कुर्सी र कागजसम्म किन्नुपर्ने अवस्था थियो । महानगरले आन्दोलनपछि १० दिनसम्म सेवा सुचारु गर्न सकेन । असोजको ५ गतेदेखि महानगरले प्राङ्गणमा टेन्ट टाँगेर सेवा प्रवाह सुरु गरेको थियो । महानगरले टेन्ट टाँगेर टेबल, कुर्सी र २ थान कम्प्युटर राखेर अत्यावश्यक सेवा सुरु गर्यो । महानगरकी उपप्रमुख शिल्पा निरौला कार्कीले न्यायिक समितिको काम समेत टेन्टबाटै सुरु गरिन् ।
अहिले महानगरको भवन मर्मत गरेर केही मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको व्यवस्थापन गरिएको छ । मर्मत गरिएकै भवनबाट केही माहाशाखाहरु सञ्चालन भइरहेका छन् । ३–४ वटा महाशाखा भने अझै पनि टेन्टबाटै सञ्चालन भइरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलाले जानकारी दिए । महानगरको सेवा पूर्ण रुपमा सुचारु हुन अझै तीन महिना लाग्ने दुलाल बताउँछन् ।
९८ करोड बराबर क्षति भएको अनुमान
जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा ९८ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । भौतिक संरचनातर्फ २३ करोडभन्दा बढीको क्षति भएको छ । जसमा महानगरको प्रशासनिक भवनसहित १३ वटा वडा कार्यालयको भौतिक संरचनामा भएको क्षति पर्छ ।
महानगरको तीन वटा कार्यालय भवनमध्ये एउटा भवन जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । उक्त भवन रिनोभेटसम्म गर्न मिल्ने अवस्थामा नरहेको प्रमुख प्रशासकीय अधिकृत दुलाले जानकारी दिए । बाँकी दुई वटा भवनमा आंशिक क्षति पुगेको छ । यता १ देखि १२ सम्मका सबै र १९ नम्बर वडा कार्यालयमा समेत पूर्ण तथा आंशिक क्षति पुगेको छ । १, ५, ४ र ११ नम्बर वडा कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । १ नम्बर वडा कार्यालयले अझै पनि भवन मर्मत गर्न सकेको छैन ।
त्यसैगरी महानगरको प्रारम्भिक मूल्यांकनअनुसार महानगरपालिकाको जिन्सी सामाग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामाग्री लगायतमा ७५ करोड भन्दा बढीको क्षति भएको छ ।
त्रसित छन् जनप्रतिनिधि
जेनजी आन्दोलनपछि शून्यबाट सेवा प्रवाह सुरु गरेका जनप्रतिनिधि निर्धक्क भने छैनन् । आन्दोलनका क्रममा कतिपय जनप्रतिनिधिहरुको निजी निवासमा समेत आगजनी र तोडफोड भएको थियो । जनप्रतिनिधिहरु माथि आक्रमणको प्रयास समेत भएकाले गर्दा एक किसिमको त्रास उत्पन्न भएको विराटनगर महानगरपालिकाका जनप्रतिनिधि बताउँछन् ।
प्रमाण र कागज नपुगेका काममा समेत दबाब दिने, नगरेमा जेनजी लगाउँछु भनेर जनप्रतिनिधि र कर्मचारीलाई धम्क्याउने गरेको विराटनगर महानगर वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले मेयरसाप डटकमलाई जानकारी दिए ।
‘अहिले त कसैले ठूलो स्वरले कराउँदा पनि डराउनुपर्ने अवस्था छ’, अध्यक्ष पोखरेल भन्छन्, ‘कागज नपुर्याइ काम गर्न आउनुहुन्छ । कागजपत्र पुर्याउनुस् भन्यो भने जेनजी लगाइदिन्छु भन्ने धम्की समेत आउने गरेको छ । एक्लै हिँड्न पनि डर छ । यति बेला जनप्रतिनिधिका परिवार समेत त्रसित छन् ।’
महत्वपूर्ण अभिलेख जल्दा समस्या
आन्दोलनका क्रममा महानगरपालिकादेखि वडा कार्यालयका समेत महत्वपूर्ण अभिलेख जल्दा अहिले ठूलो समस्या निम्तिएको छ । महानगर तथा वडाबाट भएका कामको भ्याटबिलहरु जलेका कारण अहिले भुक्तानीमा समस्या भइरहेको महानगरका प्रवक्ता समेत रहेका ५ नम्बर वडाका वडाध्यक्ष सन्तोष न्यौपानेले बताए ।
उनी भन्छन्, ‘भुक्तानी हुन बाँकी रहेका बिलहरु जलेका छन् । महालेखाले सक्कली बिल नै खोज्छ । बिल बिना भुक्तानी गर्ने कुरा हुँदैन । अहिले मुख्य समस्या भनेकै बिल जलेका कामको भुक्तानी गर्न नसक्नु हो ।’
त्यसैगरी अभिलेख नहुँदा समयमा काम गर्न नसकिने, एक दिनमा हुने कामका लागि सेवाग्राही २–३ दिनसम्म धाउनुपर्ने अवस्था रहेको वडा २ का अध्यक्ष पोखरेलले बताए ।
उनी भन्छन्, ‘रेकर्ड छैन । पेपर भेटिँदैन । सेवाग्राहीले ल्याएका कागजातहरु पुनः प्रमाणीत गर्नुपर्ने हुन्छ । प्रहरी रिपोर्ट चाहिने, सर्जिमिन गर्नुपर्ने अनेक झन्झट थपिएको छ ।’
विकास बजेट कटौती गरेर पुनर्निर्माणमा लगाउने तयारी
करिब एक अर्बको क्षति बेहोरेको विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट संशोधन गर्ने तयारी गरिरहेको छ । आगामी पुषमा हुने मध्यावधि नगरसभाबाट महानगरले बजेट संशोधन गर्ने तयारी गरेको हो ।
पुनर्निर्माणका साथै कार्यालय व्यवस्थापनका लागि आवश्यक स्रोतसाधन जुटाउन नगरसभाबाट महानगरपालिकाले बजेट रकामान्तर र शीर्षकान्तर गर्ने भएको हो । महानगरले विकास निर्माण र सामाजिक उत्तरदायित्वका बजेट कटौती गरेर पुनर्निर्माण र स्रोतसाधन खरिदमा लगाउने तयारी गरेको देखिन्छ ।
महानगरको पी एक (प्राथमिकता एक) को बजेट कटौती नहुने तर पी दुई र पी तीन (प्राथमिकता दुई र प्राथमिकता तीन) को बजेटमा भने कटौती हुने प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।
‘हाम्रो पहिलो प्राथमिकता कार्यस्थल मर्मत गरेर सहज रुपमा सेवाग्राहीलाई सेवा दिनुपर्छ भन्ने हो’, प्रमुख प्रशासकीय अधिकृत दुलाल भन्छन्, ‘पुनर्निर्माण गर्नुपर्ने छ । कार्यालय व्यवस्थापन गर्नुपर्ने छ । त्यसैले पुषमा नगरसभा गरेर बजेटलाई रकमान्तर र शीर्षकान्तर गर्छौं।’
उनी थप्छन्, ‘हामीले पी १, पी २ भनेर बजेटलाई छुट्याएका छौं । पी १ जसमा नागरिकका अतिआवश्यक सेवा पर्छन् । त्यो बजेट कटौती गर्न मिल्दैन । पी २ र पी ३ का कार्यक्रम कटौती गरेर निर्माण कार्य, कार्यालय व्यवस्थापनका लागि आवश्यक पर्ने खर्च निकाल्छौं । सामान्यतया विकास निर्माणका काममा यसले असर गर्ने देखिन्छ ।’
आन्दोलनका कारण स्थानीय तहको विकास निर्माणका काममा ठूलो असर पर्ने नगर प्रवक्ता न्यौपानेले बताए । उनी भन्छन्, ‘यस वर्ष राजस्व समेत कम उठ्ने सम्भावना देखिन्छ । भवन पुनर्निर्माण, मर्मतसम्भार गर्नुपर्ने छ । महानगरदेखि वडा कार्यालयसम्मलाई आवश्यक स्रोत साधन जुटाउनु पर्नेछ । यसका लागि नागरिकका अतिआवश्यक क्षेत्रका बजेट कटौती गर्न मिल्दैन । विकास निर्माण र सामाजिक उत्तरदायित्वका बजेट कटौती गरेर नै परिपूर्ति गर्नुपर्ने हुन्छ ।’
Facebook Comments