मन्त्री खरेल भन्छन्–युवाले चाहेमा २७ घण्टामा कायापलट हुन सक्छ भनेर प्रमाणित गरे
‘जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुन्छ’
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते ०८:२१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिएका छन् । साथै उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताए।
राष्ट्रिय युवा परिषद्द्वारा आज आयोजित ‘सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यस आन्दोलनलाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् ।
“अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो । युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ । उनीहरुले परिवर्तनका लागि बलिदान दिन सक्छन् भन्ने देखाएका छन्”, सरकारका प्रवक्ता खरेलले भने, “हरेक चरणका आन्दोलनमा युवाको भूमिका रहँदै आएको छ । युवाले चाहेमा २७ घण्टामा कायापलट हुन सक्छ भनेर प्रमाणित गरे तर यसपटक जेनजीहरु सरकारमा आउन चाहेनन् । त्यसकारण यो निःस्वार्थ आन्दोलन हो । उनीहरु आफू सत्तामा आउन चाहेनन्, सुशासन र रोजगारीको माग मात्रै गरे ।”
उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपुरो हुने भन्दै युवा नेतृत्वमा आउनुपर्नेमा जोड दिए । उनले नेपाली राजनीतिमा अब युवाको दबदबा हुनेवाला भएको र त्यसलाई कसैले रोकेर नरोकिने भनाइ व्यक्त गरे।
“अब हरेक राजनीतिक पार्टीले युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन । मुलुकका युवाको भविष्य राजनीतिमा उज्ज्वल छ ।”
मन्त्री खरेलले निकट भविष्यमा हुने राजनीतिक दलको महाधिवेशनमा कति युवा आउँछन् ? आगामी फागुन २१ गते हुने चुनावमा कति प्रतिशत युवाले टिकट पाउँछन् ? भन्ने प्रश्नले ती दल कत्तिको युवामैत्री छन् भन्ने झल्कने बताउँदै उनले अब युवा कुनै वादको बन्धक नभई अधिकार लिने र देश बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए। सञ्चार क्षेत्रले पनि यस आयामलाई बोक्न सक्नुपर्ने बताउँदै उनले मुलुक परिवर्तनको बाटोमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे।
Facebook Comments