चिराकीको कार्यलाई स्थानीय सरकारले प्रविधिमार्फत सहज बनाउँदै
भलमन्सालाई स्मार्ट फोन
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते ०९:५७
काठमाडौं । थारु समुदायमा सामूहिक कार्य र सानातिना समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने भलमन्सा (बडघर) र चिराकी (सहयोगी) को कार्यलाई स्थानीय सरकारले आधुनिक प्रविधिको सहयोगमार्फत सहज बनाउन थालेका छन् ।
लम्कीचुहा नगरपालिकाले कार्य व्यवस्थापनलाई छिटो र छरितो बनाउन भलमन्साहरूलाई ४८ थान स्मार्ट मोबाइल फोन र चिराकीहरूलाई ५० थान साइकल सहयोग गरेको छ । नगरप्रमुख सुशीला शाहीका अनुसार, यसले खबर आदानप्रदान तथा सामूहिक छलफलमा सहजता ल्याएको छ ।
घोडाघोडी नगरपालिकाले पनि भलमन्सा र चिराकीलाई साइकल सहयोग गर्नुका साथै मेलमिलापसम्बन्धी तालिम प्रदान गरेको छ । चिराकी गङ्गाराम चौधरीले साइकल पाएपछि डेढ सय घरमा हिँडेर सूचना पुर्याउनुपर्ने बाध्यता हटेको र काम सजिलो भएको बताए ।
घोडाघोडी नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले मेलमिलाप तालिमले परम्परागत रूपमा समस्याको छिनोफानो गर्दै आएका भलमन्साहरूलाई थप सहयोग पुगेको बताए ।
घोडाघोडी नगरपालिकाले समेत ७६ वटा थारु गाउँका भलमन्सा र चिराकीलाई रु ४ लाख ५० हजार बराबरको साइकल सहयोग गरेको छ । बर्दगोरिया, गौरिगङ्गा, जोशीपुर लगायतका अन्य स्थानीय तहले पनि यस्तै सहयोग गरिरहेका छन् ।
Facebook Comments